सर्वप्रथम परिवर्तन आफै भित्रबाट ल्याउनु पर्छ

"माइती परियार भन्छिन् कि सर्वप्रथम परिवर्तन आफै  भित्रबाट ल्याउनु पर्छ । शुरुमा उनलाई अप्ठयारो भएपनि पछि उनले आफ्नो समूहको नेतृत्व राम्ररी गरिन् ।"
कारितास नेपालले स्थानीय साथी संस्था (चेस नेपाल) सँगको  साझेदारीमा सामाजिक आर्थिक विकास परियोना कार्यान्वयन ग¥यो । त्यस परियोजनाको सहभागीहरू मध्ये माइती परियार नामक एकजना महिला थिइन् । उनी गरिब परिवारमा जन्मेकी थिइन् ।

उनी जन्मनु भन्दा अगाडि नै उनका बाबुले आमालाई छोडेका रहेछन् । उनकी आमाले उनलाई माइती घरमा नै जन्माइन् । पछि उनकी आमाले पनि अर्कै युवकसँग विवाह गरिन् र माइती परियारलाई मामाको घरमै छोडिन् । आफ्नै आमा–बुबाद्वारा छाडिएकी माइती टुहुरी जस्तै थिइन् र उनको वाल्यकाल औपचारिक शिक्षा विना नै वित्यो ।  गाउँको सामान्य चलन अनुसार सत्र वर्षको उमेरमा विवाह भयो उनको र छिटै एक छोरा र एक छोरीकी आमा बनिन् माइती । दशकौंसम्म उनको जीवन घरायसी काममा नै वित्यो । उनको श्रीमान् दैनिक ज्यालादारीमा काम गर्दथे र जीवन निर्वाह यसरी नै हुँदै थियो उनको । उनको छोरो ठूलो भयो र बैदेशिक रोजगारीका लागि इराक गयो ।


कारितास नेपालले स्थानीय साझेदार संस्था मार्पत उनको गाउँमा आत्मजागरण र समूह संगठनको तालिम गरायो । उनको समूहद्वारा माइतीलाई अध्यक्षमा चयन गर्यो । उनीहरुले समूहको नाम ‘‘सिर्जनशील महिला समूह’’ राखे । परियोजनाले उनलाई तालिम र अन्य सुुविधा प्रदान ग¥यो । माइती परियार भन्छिन् कि सर्वप्रथम परिवर्तन आफै भित्रबाट ल्याउनु पर्छ । शुरुमा उनलाई अप्ठयारो भएपनि पछि उनले आफ्नो समूहको नेतृत्व राम्ररी गरिन् ।

कृषि सम्बन्धी तालिम लिएपछि माइती परियारलाई बेमौसमी तरकारी खेतीले आकर्षण गर्यो । उनले प्लास्टिक टनेलभित्र तरकारी फलाइन् । उनको शुरुको प्रयास त्यति फलदायी भएन तर पछि गोलभेंडा र काक्रोबाट उनले रू २५,०००/- कमाइन् । त्यो तरकारी उनले नजिकैको बजारमा लगेर बेचिन् र उनी सफल कृषक भइन् र अरूले पनि उनको अनुशरण गरे । अहिले उनले समूहबाट  ऋण लिएर २ वटा बाख्र्रामा लगानी पनि गरेकी छिन् ।
उनको प्रयास र आशाले गर्दा उनको श्रीमान्को बानीमा पनि परिवर्तन भएको छ । उनले श्रीमान्लाई उनिमाथी गाली नगर्न र रक्सी छाड्न भनिन् । धेरै समयको सम्झाई पछि उनको श्रीमान्ले उनको कुरा सुने अनि रक्सी खान छाडे साथै श्रीमतीलाई घरायसी काम र कृषिका काममा सघाउन थाले ।

एकपटक गाउँमा बाहुनहरूले गाउँ नजिकै शिव मन्दिर बनाउनका लागि दान दिन अनुरोध गरे । यस कार्यका लागि दलितहरूले पनि दान गरे । तर शिवरात्रीका दिन परम्परागत रुपमा पुजाआजा गर्न दलितहरूलाई दिइएन । त्यसवेला उनको समूह सदस्यहरूलाई नेतृत्व गर्दै माइती परियार हातमा पूजाको थाली लिएर मन्दिर गइन् र पुजाआजा सम्पन्न गरिन् । यसरी माइतीले भेदभाव विरूद्ध जागृत भइ कार्य गरिन् ।